टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार पुग्यो

काठमाण्डु टुडे २०७९ माघ २६ गते १२:४९ मा प्रकाशित

एजेन्सी– टर्की र सिरियामा गएको भूकम्प परि १५ हजारको मृत्यु । गत सोमबारको भूकम्पमा परी करिब १३ हजार जनाको टर्कीमा र करिब दुई हजार जनाको सिरियामा मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जानकारी दिएका छन ।

यस्तै भूकम्पपरि लाखौं व्यक्तिहरु घरबारविहीन भएका छन् । उद्धार र राहत वितरणको काम जारी भए पनि ढिलासुस्ती भएको भन्दै टर्कीको विपक्षी पार्टीले सरकारको आलोचना समेत गरेको छ ।

तर राष्ट्रपति रेचेप तैयप एर्दोआनले यो समय आलोचना नभइ एकताको भएको भन्दै सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन ।

उनले भूकम्पबाट बढी प्रभावित क्षेत्रहरुको स्थलगत भ्रमणसमेत गरेका छन । उनले यो स्तरको विपदको सामना गर्न पूर्वतयारीले पनि नपुग्ने भनेर टिप्पणी गरेका छन् ।

उनले केही समय काम गराइमा समस्या आए पनि अहिले स्थिति नियन्त्रणमा रहेको बताएका छन । तर टर्कीको मुख्य विपक्षी पार्टीका नेताले त्यसप्रति असहमति व्यक्त गरेका छन ।

उनले यति धेरै क्षतिको जिम्मेवार राष्ट्रपति एर्दोआन नै भएको बताएका छन । राष्ट्रपति एर्दोआनले भने आरोप खण्डन गर्दै भनेका छन्, ‘यो एकजुट हुने समय हो ।

यस्तो स्थितिमा राजनीतिक फाइदाका लागि नकारात्मक अभियान चलाउनेलाई म सहन सक्दिनँ ।’ भूकम्पले थुप्रै भौतिक संरचना ध्वस्त भएको र सडक सन्जालमा पनि क्षति पुगेकाले राहत तथा उद्धारमा कठिनाइ भइरहेको छ ।

यसबाट सिरिया अझै बढी प्रभावित भएको छ । सबैभन्दा बढी इदलिब प्रान्त प्रभावित भएको छ । टर्की र सिरियाबीचको सिमाना खुलाएर सिरियासम्म राहत पुर्याउन प्रयास भइरहेको टर्कीका विदेशमन्त्रीले जानकारी दिएका छन ।

युरोपेली संघले सिरिया सरकारको अनुरोधमा ३५ लाख युरो बराबरको राहत पठाउने घोषणा गरेको छ । आफूले गरेको सहयोग सरकार र विद्रोही नियन्त्रित सबै क्षेत्रहरुमा पुग्नुपर्ने युरोपेली संघले भनेको बीबीसीले जनाएको छ ।

यस्तै नेपाल सरकारले पनि टर्कीमा चिकित्सकसहित राहत पठाउने गृहकार्य गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us