
काठमाण्डु,१९ माघ– नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले गृह मन्त्रालयका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्यता राख्नुपर्ने बताएका छन् ।
पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘ मुद्दा सकिएको छैन । के गर्ने भन्ने निर्णय गर्न बाँकी छ । राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्य गर्नुपर्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफूहरुले पाउनुपर्ने माग गर्दै आएको छ तर माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिन नसकिने बताएका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको छ र उसको बिहीबार अपरान्ह केन्द्रीय समिति र संसदीय दलको बैठक बसिरहेको छ ।