
काठमाण्डु,१८ माघ– नेकपा (माओवादी केन्द्र)का सांसद एवम् पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रीहरुले संविधानको मूल्य र मान्यता विपरित फेरि टिप्पणी गरे स्वीकार्य नहुने बताएका छन ।
सरकारका केही मन्त्रीहरुले संघीयताविरुद्ध अभिव्यक्ति दिइरहेका बेला उनले यस्तो बताएका हुन । उनले आज बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्रीहरुलाई संविधानको मूल्यभन्दा बाहिर गएर अभिव्यक्ति दिने काम फेरी नगर्न सचेत गराएका छन ।
उनले सरकार संविधान कार्यान्वयन गर्ने निकाय भएकाले त्यसमा रहेका मन्त्रीहरुले त्यस्ता खालका गल्ती गर्न नहुने बताएका छन । बस्नेतले भने, ‘संसदमा यो विषयमा बहस एक हदसम्म स्वीकार्य पनि छ ।
सडकमा यसको बहस एक हदसम्म स्वीकार्य पनि होला । हरेकले आ–आफ्नो मूल्य र मान्यतालाई स्वीकार गरेर अघि बढलान् । सरकार संविधानको कार्यान्वयन गर्ने संस्था क्याविनेट र क्याबिनेटका सदस्यहरुले संविधान संविधानका मूल्यभन्दा बाहिर गएर गर्ने टिप्पणी स्वीकार्य हुन सक्दैन ।
र, यस्ता प्रकारका गल्तीहरु आगामी दिनमा नहुन । यस्ता कुराहरुलाई सच्याइयोस् भन्ने कुरा सभामुख महोदयमार्फत राख्न चाहन्छु ।’ उनले राजनीतिक दलहरुलाई आ–आफ्नो दृष्टिकोण स्थापित गराउने छुट भएपनि सरकारमा रहेका मन्त्रीहरुलाई जथाभावी बोल्ने अनुमति संविधानले नदिएको पनि बताएका छन ।