
काठमाण्डु,८ माघ– महाधिवेशन आउन तीन वर्ष बाँकी छँदै कांग्रेसको शेखर–गगन समूहभित्र आगामी नेतृत्वलाई लिएर फरक–फरक मतहरु देखीएको छ ।
संसदीय दलको चुनावमा सोचेजति मत नआएको विश्लेषण हुँदै गर्दा यो समूहभित्र एकत्व हुन नसकेको भन्दै नेताहरुले चिन्ता व्यकत गरेका छन ।
केही नेताहरुले आफ्नो समूहको साझा नेता को हो भन्नेमा अलमल देखिँदा पार्टीभित्रको संघर्षमा सोचेजस्तो सबल प्रस्तुति हुन नसकिरहेको बताएका छन ।
संसदीय दलको उम्मेदवार चयन, प्राप्त मत, सरकारलाई विश्वासको मत प्रदान, टिकट वितरण लगायतमा आफ्नै समूह एकढिक्का हुन नसकेकोमा शेखर–गगन समूहका नेताहरुले असन्तुष्टि जनाएका छन ।
आफ्नो समूहबाट संसदीय दलको उम्मेदवार छिटो गरी तय गर्न नसकेकामा शीर्ष तहका नेताहरुलाई प्रश्न उठाइएको थियो । सांसद मैना रावल कार्कीले संसदीय दलको नेताको मत परिणामपछि आफूप्रति आशंका गरिएको भन्दै नेताहरुसँग गुनासो पोखिन् ।
आफ्नो समूहको एकत्व बलियो नहुँदा नै संसदीय दलको निर्वाचनमा आशा गरे अनुरुप मत नआएको नेताहरुको बताएका छन । समूहलाई थप शक्तिशाली बनाउन १५ औं महाधिवेशन केन्द्रित भएर गतिविधि बढाउनुपर्ने सहभागी नेताहरुको बताएका छन ।
सभापतिको उम्मेदवार अहिले नै घोषणा गरेर जाँदा समूहको बल बढ्ने र पार्टीमा ऊर्जा थपिने केही नेताले बताएका छन । उपसभापति धनराज गुरुङले १५ औं महाधिवेशनमा आफ्नो समूहको सभापति घोषणा गरेर जानुपर्ने बताएका थिए ।
१५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार शेखरलाई अहिले नै घोषणा गरेर जान उपयुक्त हुने तर्क उपसभापति गुरुङले बताएका थिए । शेखर–गगन पक्षको बैठकको प्रारम्भिक चरणमा बोल्ने सबैजसो नेताले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनु गलत भएको बताएका थिए ।
बैठकको प्रारम्भ गर्दै नेता शेखरले विश्वासको मत दिनु गल्ती भएको स्वीकार गरेका थिए । पाँच सांसदले मात्रै विश्वासको दिने निर्णयमा असहमति राखेका थिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले विश्वासको मत दिन नहुने पक्षमा थिए ।
विश्वासको मत दिएर गल्ती गरेको ‘आउटपुट’ आउँदै गरेको बैठकपछि नेता चन्द्र भण्डारीले बताएका छन । केन्द्रीय सदस्य मुक्ता यादवले कांग्रेसले विश्वासको मत फिर्ता गर्नुपर्ने तर्क बताएकी थिइनन् । राष्ट्रपति पद कांग्रेसले पाउने आशा त्याग्न नेताहरुले सुझाव दिएका छन् । पार्टीभित्र राष्ट्रपति पद पाइन्छ कि भन्ने झिनो आशा कांग्रेसभित्र अझै पनि जीवित छ ।
राष्ट्रपति पदको लोभमा नलागेर प्रमुख प्रतिपक्षीय भूमिकालाई प्रभावकारी बनाउन नेताहरुले जोड दिएका छन् । सबै कुरा गुमिसकेर पनि पार्टीको मूल नेतृत्वले चेत नपाएको नेता भण्डारीले बताए । गठबन्धनका लागि मत मागेपनि सरकार बन्न नसकेपछि औचित्य स्वतः सकिएको सहभागीले तर्क गरे ।
‘जनताले ठूलो भरोसा गरेर मत दिए । तर सरकार बन्ने बेलामा किन गठबन्धन टुट्यो, कमी कमजोरी कहाँ भयो, त्यसको समीक्षा गर्नु जरुरी छ,’ भण्डारीले भने ।
महाधिवेशनको मतबाट ४० प्रतिशतको हकदार भएकाले त्यसै अनुसार पार्टीभित्र हुने मनोनयनमा स्थान पाउनुपर्ने नेताहरुको धारणा रहेको थियो ।