
ताप्लेजुङ, ३१ वैशाख- ताप्लेजुङको मुक्कुमलुङ क्षेत्रमा पाथीभरा केबलकार निर्माण परियोजना अघि बढ्न कानुनी अवरोध हटेको छ ।
सर्वोच्च अदालतले केबलकार निर्माण यथास्थितिमा राख्न यसअघि दिएको अल्पकालीन आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश दिएसँगै केबलकार निर्माणको बाटो खुलेको हो ।
न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले चैत १३ गतेको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको हो ।
आदेशको पूर्ण पाठ आउन बाँकी रहे पनि परियोजनाको काम अघि बढाउन कुनै कानूनी बाधा नरहेको केबलकार कम्पनीका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेलले बताए ।
यमबहादुर लिम्बुसमेतले पाथीभरा क्षेत्रको धार्मिक र सांस्कृतिक संवेदनशीलतामा खलल पर्ने भन्दै केबलकार निर्माण रोक्न माग राखेर रिट दायर गरेका थिए ।
उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शारदा सुवेदीको इजलासले तत्कालका लागि निर्माण कार्य यथास्थितिमा राख्न आदेश दिएको थियो ।
धार्मिक आस्था र सांस्कृतिक पहिचानको केन्द्रका रुपमा रहेको मुक्कुमलुङ क्षेत्रमा केबलकार निर्माण गर्दा सांस्कृतिक पहिचान मासिने भन्दै पहिचानवादी समूदायले विरोध गर्दै आएको छ ।