
काठमाण्डु, ७ माघ– राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले उपसभामुखको कुनै अधिकार नहुने बताएका छन् ।
शनिबार प्रतिनिधिसभामा उपसभामुखको निर्वाचनअघि बोल्दै केसीले उपसभामुखलाई कुनै अधिकार नरहेको जिकिर गरे । ‘उपसभामुखको अधिकार हुन्छ के ? हामीले देखेका छैनौं ? नयाँ आएकार्लाइ त केही भएन’, केसीले भने । केसीले दुवै उपसभामुखका उम्मेदवार महिलाको बखान सुन्दा सभामुखको उम्मेदवारजस्तो देखिएको टिप्पणी गरे । केसीले महिलाहरुलाई अहिले पनि दोश्रो दर्जाको व्यवहार गरिएको भन्दै असन्तुष्टि जनाए ।
‘सम्बन्धित पार्टीका मानिसहरुको कुरा सुन्दा उहाँहरु सभामुखको उम्मेदवार जस्तो पो देखें मैले त । पार्टीहरुले यति साह्रै बखान गर्नेले सभामुखको उम्मेदवार किन गराउनुभएन ? के भयो यस्तो । यो के भएको भने अहिले पनि नेपाल पितृसतात्मक मुलुक हो’, केसीले भने, ‘महिलाहरुलाई अहिले पनि दोश्रो दर्जाको नागरिक मान्ने चलन छ व्यवहारमा । मुखले जतिसुकै काउलो लगाए पनि उहाँहरुलाई सभामुख उम्मेदवार बनाउनुपथ्र्यो नि ।’
केसीले संविधान बनाउँदाको समयमा आफ्नो दलले प्रतिनिधिसभादेखि हरेक चुनावमा महिलाको प्रतिस्पर्धी महिला र दलितको प्रतिस्पर्धी दलित बनाउनुपर्ने आवाज उठाए पनि सुनुवाई नभएको बताए । ‘महिलासँग महिलालाई प्रतिस्पर्धा गराउनुपर्छ । दलितसँग दलित लडाउनुपर्छ । कमसेकम एउटा महिलाले हारे पनि अर्को महिलाले जित्ने सम्भावना हुन्छ । त्यस्तै दलितको निर्वाचन क्षेत्रमा पनि दुईटा दलितले प्रतिस्पर्धा गर्दा एउटा दलित हारे पनि अर्कोले मौका पाउँछ । त्यस्तो व्यवस्था त हामीले गरेनौं’, केसीले भने ।
उनले उपसभामुखका उम्मेदवारको तारिफ र बखान कृत्रिम भएको समेत बताए ।