कांग्रेसले उपसभामुखमा पनि उम्मेदवार दिने

काठमाण्डु टुडे २०७९ माघ ६ गते १२:३९ मा प्रकाशित

 काठमाण्डु,६ माघ– कांग्रेसले प्रतिनिधि सभाको उपसभामुखमा पनि उम्मेदवारी दिने निर्णय गरेको छ । आज शुक्रबार विहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

कांग्रेसले उपसभामुखमा सांसद मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस केन्दीय सदस्य समेत रहेकी यादव समानुपातिकबाट सांसद भएकी थिइन् ।

कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो । उनी एमालेका देवराज घिमिरेसँग पराजित भएकी थिइन् । सत्ता गठबन्धनबाट उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानालाई उम्मेदवार बनाएको छ ।

विपक्षी गठबन्धनमा सम्बद्ध एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चासँग महिला सांसद नभएकाले कांग्रेसले नै उपसभामुखमा उम्मेदवारी दिन लागेको हो । सभामुखमा घिमिरे निर्वाचित भएकाले महिला नै उम्मेदवार बनाउनुपर्ने अवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us