
काठमाण्डु,५ माघ–प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका संसद देवराज घिमिरे निर्वाचित भएका छन् ।
प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत र विपक्षमा १०० मत परेको थियो ।
प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ बसेका थिए ।
घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे । सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले पनि उम्मेदवारी दिएकी थिइन् ।
उनलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए । घिमिरे ४ मंसिरमा भएको निर्वाचनमा झापा–२ बाट निर्वाचित भएका थिए ।