
काठमाण्डु,२ माघ–पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाण्डुबाट दुई जना फरेन्सिक विज्ञलाई पोखरा जाने भएका छन ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरुका अनुसार दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये ६८ जनाको शव फेला परेको छ भने बाँकी चनर जनाको शव फेला नपरेकाले शव खोजी कार्य भइरहेको छ ।
भेटिएका शवमध्ये २६ जनाको पहिचान भएको छ । दुर्घटनास्थलबाट निकालिएको शवहरु पोखरा स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहाल पोखरा जाने भएका छन ।
दुर्घटनामा मृत्यु भएकाको पहिचान तथा पोष्टमार्टमका लागि विज्ञ चिकित्सक समेटिएको राष्ट्रिय टिम बनाइने भएको छ । पोखरा र काठमाण्डुका विज्ञ चिकित्सक सहितको टिम बनाउन लागिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले बताएका छन ।
पोखरामा आफन्त भएका नागरिकको शवलाई प्रतिष्ठानमा पोष्टमार्टम गर्ने र अन्य चालक दलका सदस्य विदेशी यात्रु र नचिनिने अवस्थामा भएका शवलाई काठमाण्डु पठाउने तयारी भएको खत्रीले बताएका छन ।