आजबाट माओवादीको मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सुरू

काठमाण्डु टुडे २०८२ जेठ २ गते ८:०० मा प्रकाशित

काठमाण्डु, २ जेठ- नेकपा माओवादी केन्द्रले पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित विशेष जनसंवाद अभियान  थालेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बैतडीको पाटनबाट अभियानको शुभारम्भ गर्दैछन् ।

अभियानमार्फत नागरिकसँग प्रत्यक्ष संवादमा जोड दिने माओवादीले बताएको छ ।

विभिन्न स्थानमा पुगेर स्थानीय समस्याहरू सुन्ने र समाधानको पहल गर्ने उद्देश्यले यो यात्रा आयोजना गरिएको नेताहरु बताउँछन् ।
अभियान अन्तर्गत १ हजार ७ सय ६७ किलोमिटर लामो पुष्पलाल मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा जनसभा तथा जनसंवाद कार्यक्रम तय गरिएका छन् ।

पार्टीको योजना अनुसार, प्रत्येक प्रदेश समितिले आफ्नो क्षेत्रमा पर्ने एक ठाउँमा ठूलो जनसभा आयोजना गर्नेछ भने जिल्लास्तरमा समन्वय समितिहरूले जनसंवाद कार्यक्रमको आयोजना गर्नेछन् । संवादमार्फत जनभावना बुझेर आगामी राजनीतिक रणनीति तय गर्ने बताइएको छ ।

अभियान आजै डोटीको दिपायल पुगेर जनसंवाद कार्यक्रममा परिणत हुनेछ । यस्तै जेठ ३ गते अछामको मंगलसेन, जेठ ४ गते दैलेखको दुल्लु, जेठ ५ गते जाजरकोटको खलङ्गा, जेठ ६ गते पश्चिम रूकुमको चौरजहारी र मुसिकोट,जेठ ७ गते पूर्वी रूकुमको रुकुमकोट र रोल्पाको थवाङ, जेठ ८ गते बागलुङ, जेठ ९ गते पर्वतको कुश्मा हुँदै जेठ १० गते पोखरा पुगेर समापन हुनेछ ।

यसअघि पनि माओवादी केन्द्रले दक्षिणी तराईको हुलाकी राजमार्गमा फागुनदेखि वैशाखसम्म यस्तै प्रकृतिको अभियान सञ्चालन गरेको थियो ।।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us