
मकवानपुर, २९ पुस– मकवानपुरको मनहरीमा स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनहरी गाउँपालिका–८ सिमपानीका धर्मराज मोक्तान, मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका रुपेश तामाङ रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मनहरीका निरीक्षक कृष्णराज ढकालले धर्मराजको घटनास्थलमै तथा मिलन र रुपेशलाई उपचारका लागि भरतपुर मेडिकल कलेजमा पु-याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी–९ ज्यामिरेमा राति ११ बजेको समयमा तीन जना सवा स्कुटर दुर्घटना भएको हो । स्थानीयले भने सवारी साधनले ठक्कर दिँदा दुर्घटना भएको बताएका छन् । ठक्कर दिएर फरार भएको सवारी साधनको पहिचान गरी दोषीमाथि कारबाहीको माग गर्दै केहीबेर राजमार्ग अवरुद्ध गराएका थिए ।
प्रहरीले ठक्कर दिने सवारीलाई नियन्त्रणमा लिएर कारबाही गर्ने प्रतिबद्धता जनाएपछि राजमार्ग सुचारु भएको थियो ।