
काठमाण्डु,२१ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले पाउने वातावरण बनाउने आश्वासन दिएका छन् ।
आज (बिहीबार) सुदूरपश्चिमका माओवादी केन्द्रका नेताहरुसँगको भेटमा प्रचण्डले प्रदेशको नेतृत्व लिन शीर्ष तहमा सहमति जुटाउने आश्वासन दिएका छन ।
माओवादी प्रदेश अध्यक्ष हरिप्रसाद चौधरीले सुदूरपश्चिमको नेतृत्व माओवादीले लिने सहमति भएको बताएका छन । चौधरीले भने ‘प्रधानमन्त्रीज्यूले एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा माओवादीकै नेतृत्वमा प्रदेश सरकार गठन गर्ने वातावरण सिर्जना गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ’।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता तथा प्रदेश इन्चार्ज खगराज भट्ट, प्रदेशसभा सदस्य ओमबिक्रम भाट लगायतका नेताहरु सिंहदरबार पुगेका थिए ।
सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रको दाबी रहेको छ भने गठबन्धनकै अर्को घटक नागरिक उन्मुक्ति पार्टीले समेत दाबी गरेको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र एक जना स्वतन्त्र सांसद छन् ।
सरकार बनाउन २७ जनाको समर्थन चाहिन्छ । यहाँ माओवादी, एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपा मिल्दा २९ जना सांसद पुग्छन् ।