काँग्रेस सर्पवाला लुँडो खेलमा ९९ मा पुगेर फेरि तल झरेजस्तो भयोः गगन

काठमाण्डु टुडे २०७९ पुष ११ गते १३:१२ मा प्रकाशित

काठमाण्डु, ११ पुस– कांग्रेस महामन्त्री गगन थापाले आफूमाथि पार्टीको मुल नेतृत्वले अपमान गरेको बताएका छन् ।

पोखरामा आयोजित लिटेचर फेस्टिभलमा सोमबार थापाले आफू अपमानित भएर पोखरा आएको उल्लेख गरे । कार्यक्रममा थापा ‘राजनीतिमा समाजको ऐना’ नामक बहसमा सहभागी भएका थिए ।

थापाले सत्ता गठबन्धन बचाउन नसकेकामा प्रधानमन्त्री देउवाको आलोचना गरे । उनले सत्ता गठबन्धनको छलफलमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले आफूलाई सहभागी नगराएकोमा गुनासो पोखे । सभापतिले कतिबेला गठबन्धनको बैठकमा बोलाउने हो भनेर फोन कुरेको तर, खबर नआएको थापाको भनाइ थियो ।

‘म पार्टीको निर्वाचित महामन्त्री हुँ । सांसद पनि हुँ। सभापतिले पार्टीभित्र छलफल गरेर गठबन्धनमा जवाफ दिन्छु भन्नुभएको थयो’, थापाले भने, ‘बिहान ६ बजेबाट सभापतिको कल कतिखेर आउँछ भनेर कुरेर बसिरहेँ । उहाँले सल्लाह नगरेपछि अपमानित महसुस गरेर पोखरा आएँ ।’

थापाले पार्टी कार्यालयमा छलफल नभएकाले घरको छलफलमा नबोलाई जान नमिलेको तर्क थापाले गरे । थापाले काँग्रेससहितको सत्ता गठबन्धन भत्किएर नयाँ बन्नुलाई पर्सवाला लुँडो खेलजस्तै भएको टिप्पणी गरे । तलबाट भर्याङ चढ्दैचढ्दै माथि पुगेको तर ९९ मा पुगेर फेरि तलझरेजस्तो भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us