
काठमाण्डु,८ पुस– पूर्व प्रधानमन्त्री एवंम् एमाले अध्यक्ष केपी शर्मा ओलीले जेलमा बन्दी जीवन बिताउँदा चुरोटको खोलमा कविता लेख्ने गरेको बताएका छन् ।
आज (शुब्रबार) पोखरामा जारी साहित्य महोत्सवमा ‘राजनीति बाहिर जीवन’ सत्रमा पत्रकार अखण्ड भण्डारीसँग सम्वाद गर्दै यस्तो बताएका हुन । ओलीले भने, “गोलघरमा छँदा कागज भेट्टाउँदा पनि आफन्त भेटिएझैँ लाग्थ्यो ।”
अर्कैले फ्याँकेको चुरोटको खोल र खिइएर सकिन लागेको सिसाकलमको सहारामा कविता लेखेर जेलभित्रै सुनाउने गरेको ओलीले बताएका छन ।
अन्यायमा परेका जेलरकै विषयमा कविता लेखेपछि उनैले कापी र कलमको जोहो गरिदिएको उनले बताए । वि सं २०४१ तिर राजनीतिक बन्दीका रूपमा पोखरा जेलमा रहँदा ओलीले लेखेको कविता ‘खर्पन’ केही वर्षअघि चर्चामा आएको थियो ।
“जेलअघि खर्पनमा सागसब्जी बोकेर आइरेको मानिस देखेपछि म आफूलाई उनी सम्झेर त्यो कविता लेखेको हुँ”, ओलीले भने, “जहाँ कविता लेख्यो त्यहीँ छोडेर हिँड्नुपर्दा कुनै रचना हराए, कुनै लुटिए ।”
भूमिगत कालमा लेख, रचना साथमा बोकेर हिँड्ने स्थिति नहुँदा उचित ढङ्गले सङ्ग्रह हुन नसकेको उनको भनाइ छ । ओलीले बन्दी अवस्थामै १६ खण्ड लेखिसकिएको महाकाव्य पछि जेलबाटै गुमनाम पारिएको बताए ।
“सानैमा आमा गुमाउँदाको शोकलाई महाकाव्यको रूप दिन खोजिरहेको थिएँ, कृतिको नाम पनि आमा नै राख्ने सोच थियो, तर त्यसलाई पूरा गर्न सकिनँ, पछि त्यो यसै हरायो”, उनले भने, “जेलमा छँदाका फुर्सदिला दिनमा कविता, गीत, निबन्ध इत्यादि लेख्थेँ ।”
उनले कला, साहित्य, सङ्गीत, चित्रकारिता, खेललगायत विधामा आफ्नो सानैदेखिको रुचि रहेको बताएका छन । उनले गोलघरमा रहेको पुस्तकालयका सबै पुस्तक एक वर्षमा पढेर सिध्याएको बताएका छन ।
उमेरमा जो कोही कम्युनिष्ट र कवि बन्छन् भन्ने गरिन्छ नि भन्ने पत्रकार भण्डारीको जिज्ञासामा ओलीले उक्त भाष्य गलत भएको धारणा राखेका छन ।
“काव्यमा व्यक्त हुने भावना र रसमा परिवर्तन आउन सक्छ तर कुनै उमेरको प्रभावले कला, साहित्यको मूल्य तलमाथि हुन सक्दैन”, उनले भने ।