कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मनोनयन दर्ता

काठमाण्डु टुडे २०७९ पुष ५ गते १०:२८ मा प्रकाशित

काठमााण्डु,५ पुस– कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मंगलबार मनोनयन दर्ता हुने भएको छ । मतदान भने भोली बुधबार बिहान हुनेछ ।

कांग्रेस संसदीय दलको नेता चयन गर्न भोलि (बुधबार) हुने मतदानका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम रहेको नेपाली कांग्रेसले बताएको छ ।

उम्मेदवारलाई मनोनयन दर्ता शुल्क ५१ हजार रुपैयाँ तोकिएको निर्वाचन समिति संयोजक भिष्मराज आङदम्बेले जानकारी दिएका छन ।

कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, डा. शेखर कोइराला लगायत दावेदार छन् ।

थापा र कोइराला पक्षबीच साझा उम्मेदवार कायम गर्ने विषयमा अहिले छलफल जारी छ । मनोनयन दर्तापछि उम्मेदवारको प्रथम नामावली मंगलबार अपराह्न साढे ३ बजे प्रकाशन हुनेछ ।

त्यसमा दाबी विरोधका लागि साढे ३ देखि ४ बजेसम्मको समय निर्धारण गरिएको छ । दाबी विरोधमा जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन साढे ४ बजे हुने छ । उम्मेदवारको नाम फिर्ता लिने समय साढे ४ बजेदेखि साढे ५ बजेसम्मको समय तोकिएको छ ।

त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंगलबार बेलुकी पौने ६ बजे हुने कार्यतालिका निर्धारण गरिएको छ । मतदान भने भोलि बुधबार बिहान ८ बजेबाट सुरु हुने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us