
काठमाण्डु,३ पुस– चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो ।
जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण भएको छ । मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेशनको काम अन्तिम चरणमा पुगेको छ ।
बसपार्कमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको प्राधिकरणका इञ्जीनियर सागर ज्ञवालीले बताएका छन ।
यी दुइ स्टेशन करिब रु ९० लाखको लागतमा निर्माण गरिएको हो । दुईवटा स्टेशनमा एकपटकमा छ वटासम्म गाडी चार्ज गर्न मिल्छ ।
बसपार्कमा दुईवटा फरक टेक्नोलोजी सिसीएच र जिबिटीका चार्जर स्टेशन निर्माण गरिएको चार्जिङ स्टेशन निर्माणको जिम्मा पाएको दिगोका प्रोजेक्ट म्यानेजर शिव अधिकारीले बताए ।
उनका अनुसार यहाँ साना–ठूला सबै सवारीसाधनको चार्ज गर्न मिल्छ । नेपालमा उपलब्ध रहेका सवारीसाधनको क्षमताअनुसार एकदेखि डेढ घण्टासम्ममा चार्ज पूर्ण हुन्छ ।
चार्जिङ स्टेशनमा एक सय ४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ ।
सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् । चार्जिङ स्टेशनमा पेट्रोलपम्पमा जस्तो मान्छे बसेर सेवा दिइरहनु पर्दैन ।