गोकुल बाँसकोटालाई जिताएको भन्दै काँग्रेसका दुई केन्द्रीय सदस्यमाथि कारबाही तयारी

काठमाण्डु टुडे २०७९ पुष ३ गते ८:१० मा प्रकाशित

काठमाण्डु, ३ पुस– ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै काँग्रेसले काभ्रेका दुई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिमाथि कारबाही गर्ने भएको छ ।

काँग्रेस काभ्रे जिल्ला कार्यसमितिले केन्द्रीय सदस्यद्वय मधुप्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधिसभा क्षेत्र नम्बर–२ का सभापति महेश खरेललाई कारबाही सिफारिस गरेको हो ।

काँग्रेस जिल्ला सभापति तीर्थ लामाले तीनै जनामाथि कारबाही गर्न केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको बताए । उनीहरुमाथि काभ्रे क्षेत्र नम्बर–२ का काँग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईलाई हराउन अन्तर्घात गरेको आरोप काभ्रे काँग्रेसको छ ।

सभापति लामाले कारबाही सिफारिस गरिएका तीनै जना आफ्ना उम्मेदवारका पक्षमा मत माग्न नहिंडेको तथा विपक्षी एमाले उम्मेदवार गोकुल बाँसकोटाको पक्षमा खुलेआम भोट माग्दै हिंडेको आरोप लगाए ।

यस्तै बनेपा नगरपालिकाबाट प्रदेशसभा सदस्य उम्मेदवारलाई भन्दा प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई तीन हजार बढी मत कम आउनुको कारणबारे प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे र बनेपा नगर समितिसँग स्पष्टीकरण सोधिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us