उपत्यकामा मेट्रो रेलको विकल्पै छैनः महर्जन

काठमाण्डु टुडे २०७९ पुष २ गते १४:४० मा प्रकाशित

ललितपुर, २ पुस– ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उपत्यकामा तत्काल मेट्रो रेल सञ्चालन गरिनुपर्ने बताएका छन् ।

महानगरपालिकाको १०४औं स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले उपत्यकाको सवारी व्यवस्थापन व्यवस्थित बनाउन मेट्रो रेलको विकल्प नरहेको बताए । उनले अबको १५ वर्षमा उपत्यकाको जनसंख्या ६० लाख नाघ्ने भन्दै मोटरसाइकल आायत बढाएर मात्र नहुने बताए ।

केही महंगो हुने पनि मेट्रो चलाउनुको विकल्प नहुने उनको भनाइ थियो । ‘काठमाण्डु उपत्यकामा अब मेट्रोको विकल्प छँदै छैन’, उनले भने, ‘आज निर्णय गर्नसक्यौं भने अर्को १० देखि १५ वर्षसम्ममा त्यो सकिन्छ । अबको १५ वर्षपछि उपत्यकाको जनसंख्या ६० लाख पुग्छ ।’ उनले मेट्रोको विकल्पमा मोटरसाइकल हुनै नसक्ने स्पष्ट गरे ।

अन्तर्राष्ट्रिय मापदण्डका आधारमा पनि ३० लाख जनसंख्या भएको सहरका लागि मेट्रो अपरिहार्य रहेको बताए । महर्जनले संघीय सरकारको मुख ताकेर बस्न नहुने भन्दै ललितपुर र काठमाण्डु महानगरका साथै उपत्यकाका १८ पालिकाले समन्वय गरेर रेल चलाउनुपर्ने औंल्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us