
काठमाण्डु, २ पुस– रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीकी सांसद् सोबिता गौतमले बलात्कारबारे आफूले दिएको अभिव्यक्तिप्रति आत्मग्लानी भएको बताएकी छन् ।
सामाजिक सञ्जालमार्फत उनले आफ्नो अभिव्यक्ति गलत भएको स्वीकार गरेकी छन् । गौतमले बलात्कार सामान्य घटना भए पनि समाज र डलर ल्याउनेहरुले ठूलो बनाएको भन्दै दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको छ ।
गौतमले उक्त भिडियो चार वर्ष पहिलाको भन्दै अहिले बलात्कारबारे आफ्नो धारणा बदलिएको तर्क गरेकी छन् । ‘चार वर्षअघिको त्यो उदाहरण आज मैले पक्कै पनि प्रयोग गर्दिनँ। किनकि अध्यध्यन र अनुभवले मेरो बुझाइ अहिले परिष्कृत भएको छ’, उनले लेखेकी छन् ।
आफ्नो पुरानो भिडिओलाई लिएर प्रश्नकर्ताहरूको प्रश्नले आफूलाई घचघच्याएकाले बलात्कारप्रति संवेदनशील हुन सिकाएको उनको भनाइ छ । ‘यहाँहरूको प्रश्नले मलाई थप संवेदनशील हुन घचघच्याएको छ । अभिव्यक्तिको आशयभन्दा अन्यथा अर्थ लागेर प्रभावितमाथि पर्न गएको आघातप्रति मलाई खेद छ ।’
आफ्नो आशय यौन हिंसा प्रभावितलाई हीनताबोध गराउनुभन्दा उनीहरूप्रति स्वाभाविक व्यवहार गर्दा पुनर्स्थापना सहज हुन्छ भन्ने भए पनि अन्यथा अर्थ लागेर पीडितलाई थप पीडा दिने काम भएको भन्दै उनले आत्मग्लानी महसुस गरेकी छन् ।