
काठमाण्डु, २ पुस– माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता बनाउने भएको छ ।
प्रचण्डलाई निर्विरोध संसदीय दल नेता चयन गर्ने तयारी रहेको नेताहरुले बताएका छन् । प्रचण्डले सत्ता गठबन्धन आवद्ध दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् । केन्द्रीय सदस्य एवं सांसद अमनलाल मोदीले प्रचण्डलाई निर्विरोध दल नेता चयन गरिने बताए । अरु कसैको पनि दल नेतामा दाबी नरहेको उनको भनाइ थियो ।
‘अध्यक्ष प्रचण्ड निर्विरोध हाम्रो संसदीय दलको नेता बन्दै हुनुहुन्छ’, मोदीले भने, ‘दल नेतामा कसैको पनि दाबी छैन ।’ समानुपातिक सांसदले निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेलगत्तै दल नेता चुनिने उनले बताए ।
आयोगले आइतबार समानुपातिक सांसदलाई प्रमाणपत्र दिने तयारी गरेको छ । माओवादीका प्रत्यक्षतर्फबाट १८ र समानुपातिकबाट १४ गरी कुल ३२ सांसद् छन् ।