
काठमाण्डु, २४ मंसिर– क्रिश्चियन धर्म प्रचारकको आरोप खेप्दै आएका परिवार दलका अध्यक्ष एकनाथ ढकाल समानुपातिक सांसद हुने भएपछि एमालेमा चर्को विरोध भएको छ ।
एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा खसआर्य समूहबाट ढकालको नाम छ । अध्यक्ष केपी ओलीले आयोगमा बुझाउन तयार पारेको सूचीमा ढकालको नाम पाइएपछि कतिपय वरिष्ठ नेताले नै विरोध गरेका छन् ।
लामो समय पार्टीमा योगदान गरेका योग्य नेताहरुलाई पन्छाएर होली वाइनका प्रचारक भनिएका ढकालको नाम राखिनु आश्चर्यजनक भएको एमालेका एक नेताले बताए । ‘पार्टीमा दुःख कष्ट गरेर आएका र योग्य नेताहरु धेरै छन्’, उनले भने, ‘एमालेजस्तो जनआधारित पार्टीले क्रियश्चियन धर्मका प्रचारक भनिएका विवादित व्यक्तिलाई सांसद बनाउनु लोकका अगाडि लजाउनुपर्ने विषय हो ।’
समानुपातिक तर्फको सूचीलाई अन्तिम रुप दिन आज बस्ने स्थायी समिति बैठकमा त्यसबारे प्रश्न उठ्न सक्ने बताइएको छ । यसअघि शुक्रबारका लागि बोलाइएको बैठक तयारी नपुगेपछि आजका लागि सारिएको थियो ।