भ्रष्टाचार हुनै नदिने देउवाको अठोट

काठमाण्डु टुडे २०७९ मंसिर २३ गते ११:५२ मा प्रकाशित

 

काठमाण्डु,२३ मंसिर– प्रधानमन्त्री एवंम् कांग्रेस सभापति शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक उपायलाई सँगसँगै कार्यान्वयनमा उतार्नु पर्ने बताएका छन् ।

देउवाले भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिंदै यस्तो बताएका हुन । उनले भने, ‘भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक तीनवटै उपायहरुलाई सँगसँगै कार्यान्वयनमा उतार्न आवश्यक छ ।

कानुनको पालना, सार्वजनिक निकायहरुको सुदृढीकरण, जवाफदेही र पारदर्शी कार्यप्रणाली, सार्वजनिक खरिद प्रणालीमा शुद्धता जस्ता विषयले भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण सहयोग पुर्‍याउने भएकाले यसतर्फ ध्यान दिन म सबैलाई आग्रह गर्न चाहन्छु ।’

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, न्यायिक निकायहरु लगायतका निकायहरुको संस्थागत सुदृढीकरण, अनुसन्धान पद्धतिमा निरन्तर सुधार तथा न्याय निरुपणमा संवेदनशीलता जस्ता पक्षमा पनि गम्भीरतापूर्वक ध्यान दिन जरुरी रहेको उल्लेख गरेका छन् । देउवाले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनलाई विशेष महत्व दिंदै आएको बताए ।

‘यसप्रति सरकारको प्रतिबद्धता अविचलित रहेको छ,’ उनले भने, ‘विकास आयोजना व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहमा सुशासन कायम गर्दै भ्रष्टाचार हुनै नदिनेतर्फ सरकारको अठोट छ ।’

देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सबै सरकारी निकाय, बुद्धिजीवी, नागरिक समाज र सञ्चारकर्मीहरुलाई आगामी दिनमा आपसी समन्वय, सहकार्य र साझेदारीमा भ्रष्टाचार नियन्त्रण अभियान अघि बढाउन आह्वानसमेत गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us