जनताले मानव अधिकार पाएको महसुस गर्न सकेनन्: उपराष्ट्रपति पुन

काठमाण्डु टुडे २०७९ मंसिर २२ गते १६:०३ मा प्रकाशित

काठमाण्डु,२२ मंसिर– उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकारसँग सम्बन्धित कानुनी व्यवस्थाहरुको पूर्ण रुपमा लागू गर्न ध्यानाकर्षण गराएका छन् ।

बिहीबार काठमाण्डुमा आयोजित १४ औँ राष्ट्रिय मानव अधिकार महाभेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन । पुनले मानव अधिकारसँग सम्बन्धित कानुनी व्यवस्थाहरुलाई पूर्ण रुपमा लागू गराउन सबैको ध्यानाकर्षण गराएका छन ।

उनले मानव अधिकार उल्लंघनका घटनाहरू अझै पनि नरोकिएको पनि बताएका छन । उनले सबै जनताले मानव अधिकार पाएको महसुस गर्न नसकेको पनि बताए ।

उपराष्ट्रपति पुनले मानव अधिकार आवाजविहीन, शोषित उत्पीडित र राज्यले पछि पारेका जाति र वर्गहरुको लागि आवश्यक रहेको बताएका छन ।

उनले मानव अधिकारको पूर्ण पालना भएको ठाउँमा विभेद, उत्पीडन, गरिबी, अन्याय र अत्याचार नहुने बताएका छन । उनले भने– ‘मानवअधिकार उल्लंघनका घटनाहरू रोकिएका छैनन् ।

जनताले सम्पूर्ण मानव अधिकार पाएको महसुस गर्न सकिरहेको अनुभूति हुँदैन । मानव अधिकार सबैका लागि हो । र वास्तविक अर्थमा मानव अधिकार आवाज विहीन, शोषित, उत्पीडित, सिमान्तकृत र राज्यले पछाडि पारेका जाति र वर्गहरुका लागि हो ।

मानव अधिकारको कार्यान्वयन समाजको उन्नति र प्रगतिका लागि हो । जहाँ मानव अधिकारको पूर्ण पालना हुन्छ, त्यहाँ विभेद, उत्पीडन, गरिवी, अभाव, अन्याय, अत्याचार अर्थात् शोषण हुँदैन ।

यी सबै कारण मानव अधिकारको सम्मान, संरक्षण र पालना गर्न अनिवार्य छ । मानव अधिकारका प्रत्याभुतिका लागि कानूनी व्यवस्थाहरुको पूर्ण लागू गर्न आवश्यक छ ।

म त्यसतर्फ सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’ उपराष्ट्रपति पुनले आगामी दिनमा संघ र प्रदेशमा बन्ने सरकारले मानव अधिकार र सुशासनको क्षेत्रमा राम्रो काम गर्ने विश्वास पनि व्यक्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us