गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु

काठमाण्डु टुडे २०७९ मंसिर २२ गते १४:२६ मा प्रकाशित

काठमाण्डु,२२ मंसिर– धादिङको इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक विदेशी नागरिकसहित दुई घाइते भएका छन् ।

मृत्यु हुनेमा जर्मनका नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेन रहेका छन । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

आज बिहान १०ः १५ बजे फिस्लिङस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नारायणगढबाट काठमाण्डुबाट जाँदै गरेको ना ४१ प ५४८ नंको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको गरेको बागमती प्रदेश ०३–००१ च १६८२ नंको पिकअप गाडी ठक्कर खाएको हो ।

ठक्कर खाएका दुवै सवारीसाधन सडकबाट ५० मिटर तल खसेका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार मोटरसाइकलमा सवार एक विदेशी नागरिक र पिकअप गाडीमा सवार एक जना घाइते भएका छन् ।

मोटरसाइकल चालक जर्मनी नागरिकको मृत्यु भएको हो भने पछाडि सवार विदेशी महिलाको अवस्था मध्यम रहेको छ । पिकअप गाडीमा सवार तीन जनामध्ये धादिङको गल्छी गाउँपालिका–५ बस्ने ७३ वर्षीय वीरबहादुर तामाङ घाइते छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us