स्थगित भएको एमाले मतगणना सुचारु

काठमाण्डु टुडे २०७१ असार ३० गते ४:३९ मा प्रकाशित

काठमाण्डु, ३० असार– नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना फेरि सुरु भएको छ ।
uml countingआइतबार राति अबेर स्थगित भएको मतगणना आज बिहानबाट सुचारु भएको हो ।

मतगणना त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा जारी छ । बिहान ८ बजेबाट सुरु हुने भनिएको मतगणना निर्धारित समयभन्दा झण्डै डेढ घण्टापछि सुरु भएको हो । पहिलो चरणमा दुई नम्बर बुथको मेची, कोशी र सगरमाथा अञ्चलको मतगणना भइरहेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी अधिकारीले जानकारी दिए ।

यसअघि हिजो केन्द्रीय सदस्य, केन्द्रीय निकाय, जनसंगठन  र केन्द्रीय आयोगको मतगणना भएको थियो । ४२२ मत गणना भएकामा अध्यक्ष उम्मेदवार केपी ओली प्रत्यासी माधवकुमार नेपालभन्दा ५१ मतले अगाडि देखिएका छन् ।

ओलीले २२४ र नेपालले १७३ मत पाएका छन् । १४ सदस्यीय पदाधिकारीमा अधिकांश पदमा ओली पक्षले अग्रता लिएको छ । मतगणनास्थल दशरथ रंगशालाबाहिर एमाले कार्यकर्ताको चहलपहल बढ्दै गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us