चुनाव सकियो, अब पालो भारत जाने !

काठमाण्डु टुडे २०७९ मंसिर १८ गते ८:१७ मा प्रकाशित

जुम्ला, १८ मंसिर– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ ।

मतगणना सकिएर राजनीतिक दलबीच नयाँ सरकार बनाउन रस्साकस्सी चलिरहेका बेला यहाँका युवाहरू भने रोजगारीको खोजीमा भारत जान थालेका छन् ।
चुनावी रौनक सकिएसँगै सिङ्जा क्षेत्रका गाउँमा पुरूषको संख्या घट्न थालेको सिङ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल बताउँछन् ।
‘स्थानीय स्तरमा रोजगारीको अवसर छैन’, उनले भने, ‘गाउँबाट अध्ययन र रोजगारीका लागि भारत जानेको संख्या बढेसँगै गाउँमा पुरूषको संख्या पातलिन थालेको हो ।’

हिउँदेयाम लागेसँगै घरखर्च जुटाउन यहाँका युवा भारत जान बाध्य भएको उनको भनाइ छ । यहाँका प्रायः युवादेखि वृद्धसम्मका धेरैजसो व्यक्ति रोजगारीको खोजीमा भारत जाने गरेको तिला गाउँपालिका–१ का स्थानीयवासी विशल बुढाको भनाइ छ ।
स्थानीय स्तरमा रोजगारी नपाइने र कृषि पेसाका लागि हिउँदे याममा बढी जाडो हुने भएकाले मंसिरदेखि फागुनसम्म भारतका विभिन्न स्थानमा व्यापार गर्नेदेखि काम गर्नेहरू बढी हुने यहाँका स्थानीय बताउँछन् ।
रोजगारीका लागि ठूला सहर तथा भारततिर गएका युवा खेतीपातीको सिजन सुरू भएपछि मात्रै जुम्ला फर्कने गर्छन् । जुम्लाबाट रोजगारीको खोजीमा विशेष गरी भारतको उत्तराञ्चल, हिमाञ्चल लगायत क्षेत्रमा जाने गरेका छन् ।

सिङ्जाका बाढी पीडितलाई राहत वितरण

जुम्लाको सिङ्जा क्षेत्रमा पर्ने तीन स्थानीय तहका ३७० घरधुरीका बाढीपीडितलाई राहत वितरण गरिएको छ ।

कनकासुन्दरी गाउँपालिकाका १५० घरधुरी, हिमा गाउँपालिका १२० घरधुरी र सिङ्जा गाउँपालिकाभित्रका १०० घरधुरीलाई राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

गत असोज महिनाको अन्तिम साता परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले सिङ्जा भेगका तीन पालिका सबभन्दा धेरै धनजन क्षति भएको थियो ।
सरकारले सिङ्जा क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । उक्त क्षेत्रका बाढीपहिरो प्रभावित घरधुरीलाई प्लान इन्टरनेसनल नेपालको सहयोगमा त्रिपाल, कम्बल, झुल लगायत राहत सामग्री वितरण गरिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us