काठमाण्डु, २९ असार – कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले सबै भाषा, संस्कृति, कला र साहित्यको समयानुकूल विकास, संरक्षण र संवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
भानु द्वि–शतवार्षिक समारोह समिति र भानु प्रतिष्ठानले २०१औँ भानु जयन्तीका अवसरमा आएतबार आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री गौतमले नेपालमा बोलिने सबै भाषाको उत्तिकै महत्व रहेको जोड दिए ।
नेपाली भाषा सरकारी कामकाजका भाषा तथा सबै नेपालीको सम्पर्क भाषा भएकाले त्यसको छुट्टै महत्व रहेको बताउँदै उनले आदिकवि भानुभक्त आचार्यले रामायणसहित धेरै साहित्य सिर्जना गरी नेपाली भाषाको विकास र विस्तारमा ठूलो योगदान पु¥याएको चर्चा गरे ।
कार्यवाहक प्रधानमन्त्री गौतमले भने– “सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरी नयाँ नेपाल निर्माण गर्ने अभियानमा सबैको ध्यान केन्द्रित भएको वर्तमान अवस्थामा रचनात्मक भूमिका निर्वाह गर्न सबैसँग हार्दिक आह्वान गर्दछु ।”
राष्ट्रकवि तथा भानु द्वि–शतवार्षिक समारोह समितिका अध्यक्ष माधवप्रसाद घिमिरले नेपाली भाषाका छवि भानुभक्तलाई बर्सेनि भानु प्रतिष्ठानजस्ता सङ्घसंस्थाले सम्झिनु खुसीको कुरा हो भने ।
भानु प्रतिष्ठानका महासचिव डिपी अर्यालले भानुभक्तका कृतिलाई अनन्तकालसम्म जीवित राख्नुपर्नेमा जोड दिए ।
सोही अवसरमा समारोह समिति र प्रतिष्ठानले साहित्यकारद्वय चित्तरञ्जन नेपाली र युद्धवीर राणालाई सम्मान ग¥यो ।
त्यसैगरी, गत वर्षको नगरपरिक्रमा कार्यक्रममा विजयी हुने नेपाल एपिएफ स्कुल कीर्तिपुर, सरस्वती उमावि क्षेत्रपाटी, अक्षमाला विद्यासदन र अन्नपूर्ण उमावि असनलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
यस वर्ष भने नेपाल एपिएफ स्कुल कीर्तिपुर प्रथम, अन्नपूर्ण उमावि असन द्वितीय र नेपाल प्रहरी विद्यालय तृतीय भए भने नन्दी मावि सान्त्वना पुरस्कारका लागि छानिए । ती विद्यालयलाई आगामी वर्ष पुरस्कार प्रदान गरिने छ ।