भानु जयन्तीका अवसरमा साहित्यिक कार्यक्रम सम्पन्न

काठमाण्डु टुडे २०७१ असार २९ गते ८:०२ मा प्रकाशित

भक्तपुर, २९ असार –

भर् जन्म घाँसतिर मन दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनी भइकन आज यस्तो

भानु जयन्तीका अवसरमा आदिकवि भानुभक्त आचार्यद्वारा लिखित यही कवितांशलाई सभापति बनाएर भक्तपुर साहित्यिक समाजले ४५औँ साहित्य वाचन शृङ्खला आज सम्पन्न गरेको छ । कार्यक्रममा यसपटक करिब २४ जना सर्जकले आफ्ना रचना सुनाए ।

गजलकार रञ्जिता थापाको गजलले भने द्वन्द्वकाल सम्झायो ।

टुलुटुलु हेर्छन् आँखा फोटोबाट सिरानमाथि
कसरी पो राखे दाइले मेरा बालाई चिहानमाथि

त्यस्तै, काभ्रेका रवीन विष्ट स्नेहीको गजलले कार्यक्रमलाई भाव विव्हल बनायो ।

यसरी पनि चित्त बुझाउनु है मेरी आमा
हात गुमाएर पठाएको छु रुपैयाँहरु

आदिकविको रचनालाई नै सभापति बनाइएको कार्यक्रममा बीचबीचमा भानुभक्तको जीवनीसमेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा रोशनकुमार राजभण्डारी, दीपेन्द्र श्रेष्ठ, प्रभाकर असिम, सुनिल स्पन्दन, सानु ऋक्षश्रीले गीत, सुरेश बखुञ्चे, अर्चना सुनार अर्चु, घायल योद्धा नवराज, कमल सरगम, श्याम गैंडा, जितेन्द्र रसिकले गजल र दिलीप श्रेष्ठ, कृष्ण प्रजापति, रोशना न्हेमाफुके, धनमान श्रेष्ठ, एलके सुन्दर र विवश पन्तले कविता सुनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us