काठमाण्डु, ३० असार– नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनामा केपी शर्मा ओलीको प्यानलले अग्रता लिएको छ ।
१४ सदस्यीय पदाधिकारीमध्ये अधिकांश सोही प्यालनमा उम्मेदवार अगाडि छन् ।
आइतबार रातिसम्म ४२२ मत गणना भएकामा अध्यक्षमा ओली अर्का प्रत्यासी माधवकुमार नेपालभन्दा ५१ मतले अघि छन् । ओलीले २२४ र नेपालको १७३ मत छ । २ मत बदर भएको छ । २३ जनाले भने अध्यक्षमा ओली र नेपाल कसैलाई पनि मत दिएका छैनन् ।
महासचिवमा ओली प्यालनकै ईश्वर पोखरेलले अग्रता लिएका छन् । पोखरेलको २१९ र नेपाल पक्षका सुरेन्द्र पाण्डेले १९१ मत ल्याएका छन् । उपाध्यक्षमा ओली प्यालनका बामदेव गौतमले २४५, विद्यादेवी भण्डारीले २३९, किरण गुरुङले २१५, प्रदीप नेपालले २०८, धर्मनाथप्रसाद साहले १९९ ल्याएका छन् ।
यस्तै नेपाल प्यानलका उपाध्यक्ष उम्मेदवार अष्टलक्ष्मी शाक्यले १९५, भीम रावल १८३, राजेन्द्र पाण्डेले १७९, युवराज ज्ञवालीले १७७ र लालबाबु पण्डितले १७४ मत ल्याएका छन् । उप–महासचिवमा ओली पक्षकै विष्णु पौडेल २४४ र शंकर पोखरेल २२२ मतका साथ अगाडि छन् ।
नेपाल पक्षका घनश्याम भुसालले १९६ र रघुजी पन्तले १७० मत पाएका छन् । सचिवमा ओली पक्षका प्रदीप ज्ञवालीले २४७, पृथ्वी सुब्बा गुरुङले २२३, विष्णु रिमालले २१७, रघुवीर महासेठले १९५ र केशवलाल श्रेष्ठले १९२ मत पाए । सचिवमा नेपाल पक्षका गोकर्ण विष्टले २२९ मतका साथ अग्रता लिएका छन् ।
सचिवका अन्य उम्मेदवारमा भीम आचार्यले १९०, पर्शुराम मेघी गुरुङले १९०, योगेश भट्टराईले १८९ बेदुराम भुसाल १६६ मत ल्याएका छन् । एमाले निर्वाचन आयोगका अनुसार आइतबार गणना भएको मतपेटिका केन्द्रीय निकाय, जनसंगठन , केन्द्रीय आयोग र केन्द्रीय सदस्यहरुको हो ।
नेतृत्व चयनका लागि शुक्रबार राति भएको निर्वाचनको आइतबारबाट मत गणना सुरु भएको हो ।