काठमाण्डु, २८ असार– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकका उत्पीडित क्षेत्र र समुदायलाई अधिकार सम्पन्न बनाउन आफू जेल जानसमेत
तयार रहेको बताएका छन् ।
आदिवासी जनजाति सम्वद्ध पहिचान पक्षधर सात राजनीतिक दलको गठबन्धन घोषणा कार्यक्रममा अध्यक्ष प्रचण्डले उत्पीडितहरुलाई मुक्ति दिलाउने अभियानबाट आफू पछि नहट्ने बरु जेल जान तयार रहेको बताए ।
‘उत्पीडित आदिवासी जनजातिलाई अधिकार सम्पन्न गराउने आन्दोलन मैले आफूले नै सुरु गरेको हुँ’, प्रचण्डले भने, ‘उनीहरुलाई अधिकार सम्पन्न बनाउन जेल जानसमेत तयार छु ।’ उनले विगतमा आफूले पहिचानसहितको संघीयताको पक्षमा बोल्दा भौतिक रूपमा सिध्याउन खोजिएको दाबी गरे ।
र्काक्रममा संविधानसभाभित्र र बाहिर रहेका अदिवासी जनजाति पृष्ठभूमिका दलहरूले राजधानीमा पत्रकार सम्मेलन गरी पहिचानमा आधारित संघीय गठबन्धन घोषणा गरेका हुन् ।
उनीहरुले पहिचानसहितको संघीय संविधान निर्माणका लागि सडक र सदनमा दबाब दिने बताएका छन् । गठबन्धनमा खुम्बुवान राष्ट्रिय मोर्चा, आदिवासी जनजाति पार्टी, थरुहट तराई पार्टी नेपाल, नेपा: राष्ट्रिय पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, संघीय लोकतन्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राष्ट्रिय परिषद्लगायतका राजनीतिक दल आबद्ध छन् ।