एमालेमा एउटा पक्ष बढारिने

काठमाण्डु टुडे २०७१ असार २८ गते १३:४५ मा प्रकाशित

काठमाण्डु, २८ असार– एमालेको नयाँ नेतृत्व चयनका लागि गएराति सम्पन्न निर्वाचनमा अधिकांश प्रतिनिधिले प्यानलमा भोट खसालेका छन् ।

Pro_ktm_ UML 9th Congress (3)निर्वाचनमा प्रतिनिधिले माधवकुमार नेपाल र केपी शर्मा ओली प्यानलमा छानीछानी भोट खसालेका हुन् ।

‘धेरैजसो प्रतिनिधिले छानेर प्यानलमा मात्र भोट खसालेका छन्’, युवा नेता एवम् केन्द्रीय सदस्यका उम्मेदवार इन्द्रलाल सापकोटाले काठमाण्डु टुडेसँग भने, ‘एउटा प्यालन पूरै बढारिने र पदाधिकारीसहित केन्द्रीय समितिमा एउटै प्यालनको मात्र वर्चश्व हुने सम्भावना देखिएको छ ।’ नेपाल प्यालनका उनले त्यस्तो परिणाम आए एमालेको भविष्य संकटमा पर्न सक्ने उल्लेख गरे ।

सापकोटाले प्यानलमा मात्र भोट खसेकाले पार्टीका लागि नभई नहुने, इमान्दार र सक्षम नेताको टिम छुट्ने बताए । कडा प्रतिस्पर्धा देखिएकाले कुन पक्ष बढारिन्छ भन्न भने कठिन छ । ‘कुन पक्ष बढारिन्छ भन्न सक्दिन, सापकोटाले भने, ‘अध्यक्षमा जसले जित्छ तलसम्म सबै उसैको आउने संकेत छ ।’

अध्यक्ष झलनाथ खनालले निर्वाचनअघि यस्तै आशंका गरेर प्यालन नबनाउन अध्यक्षका दुवै प्रत्यासीलाई आग्रह गरेका थिए । उनले प्यालनप्रति असन्तुष्ट जनाउँदै क्रस भोटिङ गर्न प्रतिनिधिलाई सार्वजनिक अपिल नै गरेका थिए ।

शुक्रबार मतदान कार्यको शुभारम्भ गर्दै खनालले आफूले प्यालनमा नभई क्रस भोटिङ गरेको बताएका थिए । अध्यक्ष खनालले अन्तिमसम्म गरेको प्रयास विफल नभएपछि दुई प्यालनबीच प्रतिस्पर्धा भएको हो ।

१४ पदाधिकारीसहित १ सय ५९ सदस्यीय केन्द्रीय समितिका लागि शुक्रबार साँझ सुरु भएको निर्वाचन शनिबार बिहान ३ बजे सकिएको थियो । निर्वाचनमा कुल २ हजार १ सय ७६ मा २ हजार १ सय ५२ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us