काठमाण्डु, २८ असार– नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आइतबार मात्र हुने भएको छ ।
अध्यक्षका दुई प्रत्यासी माधवकुमार नेपाल र केपी शर्मा ओली पक्षको विवादका कारण मतगणना स्थगित भएको हो । तर केन्द्रीय निर्वाचन आयोग प्रमुख सोमनाथ प्यासी अधिकारीले आइतबार बिहान ८ बजेबाट मतगणना सुरु हुने जानकारी दिए ।
व्यवस्थापकीय काम नसकिएका कारण मतगणना रोकिएको दाबी उनले गरे । ‘रातभरको निन्द्राले सबै लखतरान भएका छौं’, अधिकारीले भने, ‘व्यवस्थापकीय काम पनि बाँकी छ ।’
युवा नेता एव्म सचिव पदका उम्मेदवार योगेश भट्टराईले निर्वाचन आयोगबाट मतगणनाको आचार संहिता बनाउन ढिलाइ भएको तथा कम्युटर र प्रिन्टर जडानसहित प्राविधिक तयारी नपुगेकाले आइतबारबाट मतगणना सुरु गर्ने सहमति भएको बताए । यसअघि शनिबार दिउँसो १ बजेबाट सुरु हुने भनिएको मतगणना तीन बजेका लागि सारिएको थियो ।
आइतबार पहिलो चरणमा पदाधिकारीको मतगणना हुने निर्वाचन आयोगले जनाएको छ ।
शुक्रबार साँझ साढे ५ बजेबाट सुरु भएको मतदान बिहान ३ बजे सकिएको थियो । कुल २ हजार १ सय ७६ प्रतिनिधिमध्ये २ हजार १ सय ५२ मत मात्र खसेको थियो । मतदानमा २४ प्रतिनिधि अनुपस्थित रहे । १५ पदाधिकारीसहित १ सय ५९ सदस्यीय केन्द्रीय समितिका लागि ४ सय १५ जना चुनावी मैदानमा छन् । अध्यक्षमा नेपाल र ओलीबीच कडा प्रतिस्पर्धा भएको अनुमान गरिएको छ ।