
एजेन्सी– म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाउँदा कम्तिमा छ बालबालिकाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
विद्रोहीहरूले आफूूमाथि आक्रमण गर्न भवन प्रयोग गरिरहेको कारण गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ । गत वर्षको सुरुमा सेनाले निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यानमार हिंसाको चपेटामा छ । सैन्य सरकारको विरोधमा विपक्षीले देशव्यापी गतिविधि सञ्चालन गर्दै आएका छन् ।
आन्दोलनका गतिविधि दबाउन सेनाले घातक बल प्रयोग गरेको छ । मध्य सागिङ क्षेत्रको लेट यट कोन गाउँमा रहेको विद्यालयमा सेनाले गोली चलाएको प्राप्त विवरणहरूमा जनाइएको छ ।
रिपोर्टअनुसार सेनाको हेलिकप्टरले गाउँको बौद्ध बिहारमा रहेको विद्यालयमा गोली प्रहार गरेको थियो । केही बालबालिकाको सेनाको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो भने आक्रमणमा घाइते बनेका केही बालबालिकाको उपचारका क्रममा मृत्युभएको थियो ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा विद्यालय भवनमा गोलीका खोका र रगतका टाटा देखिन्छ ।