पाँच दलीय गठबन्धनविरुद्ध ओलीले बनाए ६ दलीय गठबन्धन, अरु दल पनि थपिँदै

काठमाण्डु टुडे २०७९ भदौ २८ गते ७:४२ मा प्रकाशित

काठमाण्डु, २८ भदौ– आगामी निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धाका लागि प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि गठबन्धन निर्माणको गृहकार्यमा जुटेको छ ।

एमालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) जनता प्रगतिशील पार्टी नेपाल (जप्रपा), तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) सहितका दलसँग चुनावी गठबन्धन बनाउने आन्तरिक गृहकार्यमा जुटेको छ ।

सत्तारूढ नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमार्चाको पाँच दलीय गठबन्धन छ । पाँच दलीय गठबन्धन अहिले सिट बाँडफाँट आन्तरिक छलफलमा रहेको छ ।

हाल सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनका कारण बहुसंख्यक पालिकामा पराजय व्यहोरेको एमाले साना दलसँग गठबन्धन बनाएर प्रतिनिधिसभा र प्रदेशसभामा बलियो उपस्थिति देखाउन खोजेको छ ।
एमाले अध्यक्ष केपी ओली आफैं गठबन्धन निर्माणका लागि आन्तरिक छलफलमा छन् ।

स्रोतका अनुसार ओलीले लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जप्रपा अध्यक्ष हृदयेश त्रिपाठी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन् । राजधानीदैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us