
काठमाण्डु, १६ भदौ– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लागेका आरोपको प्रतिवाद गर्दै प्रस्तावकदेखि सहकर्मीसम्मलाई चौतर्फी प्रतिप्रश्न गरेका छन् ।
महाभियोग सिफारिस समितिमा बयानका लागि उपस्थित भएका जबराले महाभियोग राजनीतिक उद्देश्य पूर्तिका लागि मात्र भएको जिकिर गरे । आफूमाथि लागेका आरोपभन्दा बढी आफूमाथि प्रश्न गर्नेलाई उनले प्रतिप्रश्न गरे । महाभियोगको प्रक्रियाबारे संसद्ले नै संविधान र नियमावली मिचेको भन्दै प्रस्तावको औचित्य नभएको उनले जिकिर गरे ।
निष्क्रिय भइसकेको प्रस्तावमा पनि नागरिकको हैसियतमा जवाफ दिन आफू समितिसमक्ष उपस्थित भएको जबराको तर्क थियो । जबराको बयान बिहीबार पनि जारी रहनेछ । बयानका क्रममा आरोपबारे जवाफ दिँदै उनले सहकर्मी न्यायाधीश, पूर्वन्यायाधीश, बार एसोसिएसन, राजनीतिक दलका नेता, मिडिया सबैलाई प्रतिप्रश्न गरे ।
उनले महाभियोग सिफारिस समिति तथा प्रस्ताव समयमा अघि नबढाएकोमा प्रतिनिधि सभालाई पनि प्रश्न गरे । आफू प्रश्नबाट बाहिर नरहेको तर्क गर्दै जबराले आफूलाई आरोप लगाउने व्यक्ति र संस्थालाई समेत जवाफ दिए।
समिति सदस्य रेखा शर्माले जवाफका क्रममा जबराले सबैप्रति प्रतिप्रश्न गरेको बताइन् । शर्माले भनिन्, ‘जबराले राजनीतिक दल, बार, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, न्यायाधीश, मिडिया सबैप्रति प्रश्न गर्नुभएको छ। अभियोगबारे न्यायाधीशलाई पनि बोलाएर सोध्नुस् भन्नुभएको छ। जानकारी दिने क्रम निरन्तर रहनेछ।’ गोरखापत्र दैनिकबाट