मन्त्री क्वार्टरका सामान पूर्वमन्त्रीका घरमा

काठमाण्डु टुडे २०७९ असार २६ गते ७:१३ मा प्रकाशित

काठमाण्डु, निवर्तमान मन्त्रीहरुले सरकारी आवास गृह छाड्दा आवासका सामान घरतिर लिएर जाने गरेका छन् ।

मन्त्रीको प्रयोगका लागि सरकारी सुविधामा आवासमा राखिएका भाँडाकुँडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर वासिङ मेसिनलगायतका सामग्री बहिर्गमन हुँदा उनीहरुले लिएर जाने प्रवृत्ति यसपटक पनि दोहोरिएको छ ।

ताकेता गर्दा कतिपय मन्त्रीले लिएर गएका समान तत्काल फिर्ता ल्याइदिने गरेका छन् भने कतिपयले निकै गाह्रो मानेर फिर्ता गर्छन् । कतिपय मन्त्रीले भोलि फर्काइदिन्छु भन्दै टार्ने गरेका छन् ।

पछिल्लोपटक कृषि तथा पशुपन्छी मन्त्री पदबाट विदा पाएका महेन्द्र राय यादवले पुल्चोकस्थित मन्त्री निवास छाड्दा वासिङ मेसिनदेखि अन्य केही सामान लिएर गएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका कर्मचारीले बताए ।

आवास लैजान नमिल्ने समान लिएर गएको थाहा पाएपछि सचिवालयले उनलाई ती समान फिर्ता गर्न पत्राचार गरेको छ । मन्त्री यादवले सरकारी आवास छोडेको एक साता भइसक्दा पनि ती समान फिर्ता गरेका छैनन् । गोरखापत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us