एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कमब्याक भोलि !

काठमाण्डु टुडे २०८२ असार १३ गते १७:१६ मा प्रकाशित

काठमाण्डू, १३ असार– भोली (शनिबार) मदन भण्डारी फाउन्डेसनद्वारा राष्ट्रिय सभागृहमा आयोजना हुने मदन स्मृति दिवसको कार्यक्रम सत्तारूढ एमाले भित्रको आन्तरिक शक्ति सन्तुलनका दृष्टिले निकै अर्थपूर्ण बन्ने वाल छ ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको वर्चस्व कायमै रहेको पार्टीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा पुनः प्रवेश गर्न लागेकी छिन् । पार्टी अध्यक्ष ओलीको स्पष्ट समर्थन विना नै भण्डारीको पुनरागमनको तयारीलाई एमाले भित्रको गहिरिँदो ध्रुवीकरणको संकेतका रूपमा हेरिएको छ ।

एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले भण्डारी शनिबारको कार्यक्रममार्फत सक्रिय राजनीतिमा फर्कने घोषणा गर्ने तयारी गरीरहेको जानकारी गराएका छन । पूर्वराष्ट्रपति भण्डारी जो दिवंगत नेता मदन भण्डारीकी पत्नीसमेत हुन् । विगतमा अध्यक्ष ओलीकी नजिककी राजनीतिक सहयोगीका रूपमा चिनिएकी थिइन् ।

ओलीकै सहयोगमा दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी भण्डारीले अब पुनः पार्टी राजनीतिमा भूमिका लिन खोजेकी हुन् । यद्यपि एमालेभित्र भण्डारीको पुनरागमनलाई लिएर मतभेद देखिएको छ । हालै सम्पन्न ५३ औँ सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले गणतन्त्रप्रति विश्वास कमजोर बनाउने खतरा रहेको भन्दै पूर्वराष्ट्रपतिलाई पार्टी सदस्य बन्न नदिने विधान संशोधनको प्रस्ताव राखेका थिए । तर, बैठकमा कसैको समर्थन नपाएपछि उक्त प्रस्ताव अघि बढ्न सकेको छैन ।

महासचिव पोखरेलले भण्डारीको सक्रियता संविधान, कानून र पार्टी विधानअनुसार रोक्न सकिने धारणा व्यक्त गरेका छन् । तर, भण्डारी पक्षधर नेताहरूले त्यस्तो कुनै संवैधानिक वा वैधानिक अवरोध नरहेको जिकिर गरेका छन् । शनिबारको कार्यक्रममा प्रधानमन्त्री ओली पनि सहभागी हुने तय भएको छ ।

यद्यपि उनी त्यसै दिन स्पेन प्रस्थान गर्ने तयारीमा रहेकाले कार्यक्रम छोटकरीमै सम्बोधन गरेर बाहिरिने ओली निकट एक नेताले जानकारी दिए । एमालेभित्र भण्डारीको पुनरागमनले नयाँ राजनीतिक समीकरण सिर्जना गर्ने अनुमान गरिँदैछ । पार्टी नेतृत्व र सांगठनिक संरचनामा आउने सम्भावित उतारचढावसँगै शनिबारको कार्यक्रमले एमालेको आगामी दिशा निर्धारण गर्ने सम्भावना रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us