काठमाण्डु, १९ असार– परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण नरोकिने स्पष्ट गरेको छ ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्रीको भ्रमणबारे आवश्यक तयारी भइरहेको बताइन् । तयारी सकिएपछि मिति घोषणा हुने जानकारी उनले दिइन् ।
अमेरिकी राज्य सहायता कार्यक्रम (एसपीपी) सम्झौता बाहिरिएपछि देउवालाई अमेरिका नजान दबाब छ । पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले भ्रमण अपेक्षित रहेको बताइन् ।
फरक प्रसंगमा उनले एसपीपी अस्वीकार गर्ने मन्त्रिपरिषदको निर्णयबारे अमेरिकालाई पत्राचार गर्न बाँकी रहेको खुलासा समेत गरिन् ।
मन्त्रिपरिषदको निर्णय मन्त्रालयमा आएको र अध्ययन चरणमा रहेकाले पत्र लेखिनसकिएको उनको भनाइ थियो ।