भक्तपुर, ११ असार– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले भूमाफिया र ठेकेदारको जंजालमा फसेर उपत्यकालाई गाविसविहीन बनाउने
षडयन्त्र गरेको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लव भक्तपुरले बुधबार गरेको साक्षात्कारमा उनले षड्यन्त्रमा परेर सरकारले ल्याएको नयाँ नगरपालिका घोषणा कार्यक्रम स्वीकार्य नहुने बताए ।
अध्यक्ष बिजुक्छेले नगरपालिका बन्नका लागि आवश्यक भौतिक पूर्वाधार पुरा नै नगरी र जनस्तरमा छलफल नै नगरी नगरपालिका घोषणा गर्नु उचित नहुने धारणा राखे ।
एक फरक प्रसङ्गमा उनले सभासद्हरू सदनमा भन्दा योजना आयोग र एनजियो–आइएनजियोको कार्यक्रममा धाउनुले संसद भवनका सिटहरू खाली भइरहेको बताए । ठूला दल संविधान निर्माणमा भन्दा आर्थिक चलखेलमा अग्रसर रहेको आरोप उनको थियो ।