
काठमाण्डु, ११ असार– एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आसन्न नवौं महाधिवेशनमा सहभागी हुने कुल २ हजार १ सय ३० मध्ये १ हजार ४ सय ३५ प्रतिनिध आफ्नो पक्षमा रहेको दाबी गरेका छन् ।
ओलीको सचिवालयले काठमाण्डु टुडेलाई उपलब्ध गराएको सूचीमा सो पक्षको बहुमत रहेको दाबी गरिएको छ । त्यसबाहेक बाँकी प्रतिनिधि अध्यक्ष पदका अर्का आकांक्षी वरिष्ठ नेता माधव नेपाल र तटस्थ रहेका अध्यक्ष झलनाथ खनालको पक्षका रहेको दाबी सो पक्षको छ ।
ओलीको सचिवालयमा रहेका युवा नेता डा. राजन भट्टराईका अनुसार, अहिलेसम्म निर्वाचन परिणाम आउन बाँकी बाहेक ६८.११ प्रतिशतभन्दा केही बढी प्रतिनिधि नेता ओलीको पक्षमा खुलिसकेका छन् । उनीहरु दृढतापूर्वक नेतृत्व हस्तान्तरणको पक्षमा उभिएको उनले बताए ।
बाजुरामा बुधबार भएको निर्वाचनमा २४ मध्ये २०, उत्पीडित दलिय जातिय मुक्ति समाजबाट ५ मा ४ जना आफ्नो पक्षका रहेको दाबी सो पक्षले गरेको छ ।
सोचेजस्तो प्रतिनिधि चयन नभएपछि नेपाल पक्षका अभियन्ताहरु नै ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने पक्षमा देखिएको दाबीसमेत ओली पक्षले गरेको छ ।