काठमाण्डु, ११ असार– भारतको लखनउबाट पक्राउ परेका डन सुजनकुमार पौडेल, उर्फ रमेश बाहुनलाई महानगरीय प्रहरी परिसर काठमाण्डुले पत्रकार सम्मेलनमार्फत सार्वजानिक गरेको छ ।
प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका बाहुनलाई ६ महिनाको प्रयासमा नेपाल प्रहरीले भारत उत्तर प्रदेशका समाजवादी पार्टीका विधायक विनायक सिंहको घरबाट केही दिनअघि पक्रेको थियो ।
हत्या, अपहरण, जबर्जस्ती रकम असुली तथा ठेक्कापट्टाका नामबाट अवैध धन थुपार्दै आएका बाहुन ललितपुरका काँग्रेस कार्यकर्ता मिनकृष्ण मर्हजनमाथि गत ४ माघमा गोली प्रहार गरेपछि फरार थिए । नेपालमा बस्दा प्रहरीको फन्दामा परिने डरले बाहुन भारतीय विधायक सिंहको घरमा लुक्दै आएका थिए ।
पत्रकार सम्मेलनमा प्रहरीले बाहुनको साथबाट लागू औषध खैरो हेरोइन २८ शदमलब ४ ग्राम र लोडेड पेस्तोल तथा त्यसमा लाग्ने गोलीसमेत बरामद भएको जनाएको छ ।
उनलाई पक्रन तत्कालिन काठमाण्डु परिसर प्रमुख एसएसपी रमेश खरेलले पक्रन भारतीय प्रहरीको सहयोगमा विशेष टोली खटाएका थिए । सोही टोलीले बाहुनलाई भारतबाट पक्रेको हो ।
एमाले नेता केपी शर्मा ओलीसँग विशेष सम्बन्ध रहेका बाहुनलाई उनकै दबाबमा प्रहरीले पक्रन सकेको थिएन। ।