काठमाण्डु, ११ असार – इराकी सहर टिक्रिटस्थित एक शिक्षण अस्पताल नजिक फोहर फाल्ने कन्टेनरमा लुकेर बसेका तीनजना नेपालीलाई तत्काल उद्धार गर्न नेपाल मानवअधिकार सङ्गठनले सरकारलाई आग्रह गरेको छ ।
कन्टेनरमा बसेर उद्धारको प्रतीक्षा गरिरहेका दमक नगरपालिका–१३ का प्रेस गिरी, मोरङको बयरबन–९ का मोहनकुमार बस्नेत र हापुर–९ दाङका टोपबहादुर बस्नेतको जीवन रक्षाका निम्ति अनुरोध गर्दै सङ्गठनले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसमक्ष बिहिबार अनुरोध गरेको हो ।
गिरी र बस्नेतका आफन्तजनले सङ्गठनसमक्ष उद्धारको प्रयास गर्न अपिल गर्दै निवेदन दिएकाले आवश्यक कारबाहीका निम्ति मन्त्री पाण्डेलाई पत्राचार गरिएको सङ्गठनले जानकारी दिएको छ ।
कन्टेनरमा लुकेर बसेका उनीहरूलाई खाना र पानीको समस्या भएको र बाहिर निस्कने अवस्था नरहेको जानकारी पीडितहरूबाट परिवारजनलाई प्राप्त भएकाले सोहीबमोजिम राहदानी नम्बरलगायतका विवरण पनि परराष्ट्रमन्त्रीसमक्ष पेश गरिएको संगठनले बताएको छ ।