काठमाण्डु, १० असार – नेकपा एमालेको नवौं महाधिवेशनमा अनेरास्ववियुका पूर्व अध्यक्षद्धय रामकुमारी झाँक्री र माधव ढुंगेल विद्यार्थी विशेष जिल्ला कमिटीबाट प्रतिनिधि चयन भएका छन् ।
निकै प्रतिस्पर्धात्मक चुनावमा झाँक्रीले प्रतिस्पर्धी सुनिता बराललाई ७० भन्दा बढि मतान्तरमा पराजित गरेर महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन् ।
उनी विद्यार्थी विशेष जिल्ला कमिटीको महिला कोटाबाट निर्वाचित भएकी हुन् । त्यस्तै अर्का पूर्व अध्यक्ष ढुंगेल खुल्ला कोटाबाट आफ्नै कार्यकालका उपाध्यक्ष लक्ष्मण लम्साललाई ११ मतको अन्तरमा पराजित गर्दै प्रतिनिधिमा निर्वाचित भएका छन् ।
झाँक्री माधव नेपाल समूहकी हुन् भने ढुंगेल केपी ओली समूहका हुन् । झाँक्री र लम्साल जिताउन अखिलका पूर्व अध्यक्ष समेत रहेका युवा नेता राजेन्द्र राई चुनावी मैदानमा भिडेका थिए ।
बाल्मिकी क्याम्पसमा भएको निर्वाचनमा २ सय ६४ मतदाताले भाग लिएको निर्वाचन समितिले जानकारी दिएको छ । ढुंगेल विद्यार्थी विशेष जिल्ला कमिटीका अध्यक्ष हुन् भने झाँक्री पूर्व अध्यक्ष हुन् ।
झाँक्री र ढुंगेलको नाममा केही नेताहरुले चुनाव नगरी सर्वसम्मतिको प्रयास गरेका थिए । तर माधव नेपाल पक्षले लक्ष्मण लम्सालको लागि अडान लिएपछि चुनाव भएको थियो ।