आफ्नै छोरी बलात्कार गर्नेलाई १८ वर्ष कैद

काठमाण्डु टुडे २०७१ असार १० गते १०:२९ मा प्रकाशित

खोटाङ, १० असार – झड्केली छोरीलाई बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत खोटाङले १८ वर्षको जेल सजायँ सुनाएको छ ।

चौध वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका बाक्सिला–७ का ४० वर्षीय कर्णबहादुर बस्नेतलाई जिल्ला अदालतले १८ वर्षको कैद सजायँ सुनाएको हो ।

छोरीलाई बलात्कार गरेको आरोपमा गत फागुन–२ गते पक्राउ परेका बस्नेतलाई जिल्ला न्यायाधीश ईश्वरीप्रसाद गौतमको एकल इजलासले जबर्जस्ती महलअन्तर्गत आठ वर्ष र हाडनाता करणी महलअन्तर्गत १० वर्षको कैद सजायको फैसला गरेको हो ।सोलुखुम्बुको सोताङमा रहेको मावली घरमा बस्दै आएकी छोरीलाई घर आएको बेला बस्नेतले माघ २९ गते राति बलात्कार गरेको प्रहरीले जनाएको छ ।

घटनाको तीन दिनपछि दोषीका विरुद्ध प्रहरीमा पीडितको उजुरी परेको थियो । हाडनाता र जबर्जस्ती करणी उद्योगमा मुद्दा चलाइएका बस्नेतलाई जिल्ला अदालतको आदेशमा फागुन २७ गते पुर्पक्षका लागि जिल्ला कारागार शाखा दिक्तेलमा थुनामा पठाइएको थियो ।

मानसिक पीडा र यातनाका कारण गाउँमा बस्ने वातावरण नभएपछि बलात्कृत बालिकालाई सदरमुकाम दिक्तेलस्थित महिला तथा बालबालिका पुनःस्थापना केन्द्रको संरक्षणमा ३७ दिनसम्म राखेर पुनः गाउँमा पठाइएको जिल्ला बालअधिकार अधिकृत रविन राईले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us