
महोत्तरी, १० असार – महोत्तरी प्रहरीले मङ्गलबार १७ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत महोत्तरीद्वारा दोषी ठहरिएका १५ जना र प्रहरी अनुसन्धानका क्रममा फरार रहेका दुई जनालाई समातिएको हो ।
पक्राउ पर्नेहरुमा हात्तीलेट–५ का ६० वर्षीय नथुनी साह, ५५ वर्षीया शैलदेवी साह, किसाननगर–९ का ५२ वर्षीय रामनारायण सिंह, रामउदार सिंह, भ्रमरपुरा–३ का रामनरेश ठाकुर, पिपरा–३ का विपिनकुमार ठाकुर, भूमिहार–२ का चन्द्रभूषण मिश्र, जलेश्वर–५ का लक्ष्मीप्रसाद साह, मटिहानी–१ का जुगल केवट, नैन्ही–३ का मोती साह फकिर, किसाननगर–३ का पद्मबहादुर पाण्डे, रामसेवक यादव, हलखोरी–३ का बद्रीराय यादव, मनरा–३ का हरिदेव ठाकुर, बर्दिवास–२ का सन्तोष हमाल, बर्दिवास–५ का विजय महतो र पोखरभिण्डा–३ का शिवजी यादव रहेका छन् ।
फरार अभियुक्तहरुको खोजविन अभियानअन्तर्गत महोत्तरी प्रहरीको विशेष टोलीले घरबाटै उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये कुटपिट र लुटपाट मुद्दाअन्तर्गत रामनरेश ठाकुरलाई जिल्ला अदालत महोत्तरीले दुई महिना १५ दिन कैद र रु एक हजार २०० जरिवाना गरेको छ ।
त्यस्तै, सोही मुद्दाअन्तर्गत विपिनकुमार ठाकुर भूमिहारलाई रु सात हजार २५०, चन्द्रभूषण मिश्रलाई रु दुई हजार ६४०, जालसाजी मुद्दाअन्तर्गत लक्ष्मीप्रसाद साहलाई रु पााच हजार ५०० जरिवाना गरिएको छ ।
त्यस्तै, डााका मुद्दाअन्तर्गत जुगल केवटलाई छ वर्ष, जबर्जस्ती करणी मुद्दाअन्तर्गत मोती साह फकिरलाई चार वर्ष नौ महिना, कुटपिट मुद्दामा बद्री राय यादवलाई छ महिना कैद रु दुई हजार जरिवाना, नागरिकता कीर्ते मुद्दाअन्तर्गत हरिदेव ठाकुरलाई एक वर्ष कैद रु पााच हजार जरिवाना, लुटपाट मुद्दाअन्तर्गत शिवजी यादवलाई दुई वर्ष कैदको फैसला अदालतले गरेको छ । तर डााका मुद्दाअन्तर्गत प्रहरीले जुगल केवट भनी पक्राउ गरिएका व्यक्ति जुगल केवट नभई जुगल मलाह रहेका छन् भने उनी आफू निर्दोष रहेको दाबी गरेका छन् ।
पर्शुराम साहको जाहेरीले वादी नेपाल सरकार रहेको सो मुद्दामा जिल्ला अदालत धनुषाले मटिहानी–१ का जुगल केवटलाई छ वर्ष कैदको फैसला सुनाएको थियो । तर महोत्तरी प्रहरीले मटिहानी–१ का जुगल मलाहलाई पक्राउ गरी ल्याएपछि जिल्ला अदालत महोत्तरीले उनलाई कारागार पठाएको छ ।
त्यस्तै, ज्यान मार्ने उद्योगअन्तर्गत पद्मबहादुर पाण्डे, रामसेवक यादव अनुसन्धानको दायरामा राखिएका छन् । उनीहरुले २०५६ पुस २४ गते किसाननगर–१ का शत्रुधन पंजियारलाई कुटपिट गरी घाइते बनाएका थिए । पक्राउ परेका १७ जनामध्ये १५ जनालाई जिल्ला अदालत महोत्तरीमा बुझाइएको छ ।
जिल्ला प्रहरी महोत्तरी अनुसन्धान शाखाका अनुसार जिल्ला प्रहरीको अनुसन्धानको सिलसिलामा ३३९ जना फरार अभियुक्त रहेकामध्ये २५ जना पक्राउ परेका छन् । अदालतद्वारा दोषी ठहरिएका ५१४ मध्ये १५ जनालाई महोत्तरी प्रहरी पक्राउ गर्न सफल भएको छ ।
सुरक्षा सुदृढीकरण एवम् अपराध नियन्त्रणका लागि फरार अभियुक्तलाई तत्काल पक्राउ गर्न उनीहरुको सूची बनाएर जिल्लाव्यापी खोजी अभियान थालिएको महोत्तरीका प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताउनुभयो । फरार अभियुक्तहरु पक्राउ गर्न जिल्लाभरिकै इलाका प्रहरी कार्यालय र प्रहरी युनिटहरुलाई निर्देशन दिइएको छ । रासस