काठमाण्डु, ९ असार– परराष्ट्र मन्त्रालयले द्वन्द्वग्रस्त मुलुक इराकमा रहेका नेपालीलाई उच्च सतर्कतामा रहन र जतिसक्दो छिटो नेपाल फर्कन आग्रह गरेको छ ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसहित मन्त्रालयका अधिकारीहरुको सोमबारको बैठकले
इराकको अवस्थामा सुधार नआएको र अवस्था थप भयावह हुने सम्भावना देखिएकाले इराक छाड्न भनेको हो । परराष्ट्रले एक विज्ञप्ति जारी गर्दै इराकमा रहेका नेपालीको उद्धारका लागि सम्बद्ध मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वय गरिरहेको उल्लेख छ ।
सरकारी सेना र सुन्य मुस्लिम समूहबीच संघर्ष जारी रहेको इराकमा १५ हजारभदा बढी नेपाली रहेको अनुमान गरिएको छ ।
नेपालीलाई उद्धार र पुन:स्थापना गर्नुपर्ने अवस्था आएमा लिनुपर्ने कदमका सम्बन्धमा पनि निरन्तर गृहकार्य भइरहेको परराष्ट्रले जनाएको छ । मन्त्रालयले इराकमा रहेका नेपालीका विषयमा मन्त्रालयको इमेल [email protected] अथवा टोल फ्रि नम्बर १६६०–०१–००१८६ मा जानकारी गराउन अनुरोधसमेत गरेको छ ।