हत्या आरोपमा छजना पक्राउ

काठमाण्डु टुडे २०७१ असार ९ गते १०:०६ मा प्रकाशित

महोत्तरी, ९ असार – माछा व्यवसायी विक्रम सहनीको हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले सोमबार एक प्रधानाध्यापकसहित छजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भ्रमरपुरा–१ का लखिचन्द्र साह, सरपल्लो–४ का रामदरेश ठाकुर, रामदुलुम साह, रामगोपालपुर–१ दोलाठीका १९ वर्षीय ठोरफुटवा भन्ने रामउदीस ठाकुर, ३२ वर्षीय साहेव भन्ने सइव नदाफ र खोपी–७ का बेल्बा भन्ने बलीराम चमार रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनीहरुलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । चुल्हाई माया प्रावि सरपल्लोका प्रधानाध्यापक रहेका लखिचन्द्रसहित छजना माछा व्यवसायीमाथि विक्रम सहनीलाई अपहरण गरी हत्या गरेको आरोप छ । हत्यापछि उनीहरु फरार थिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठका अनुसार अपहरणकारीले २०७० साउन १२ गते सरपल्लो–७ बस्ने २१ वर्षीय माछा व्यवसायी विक्रमलाई अपहरण गरी सहसौला–५ स्थित खेतमा मुखमा माटो कोची कर्तव्य गरी मारेका थिए । मागे जति फिरौती नदिएको भन्दै उनीहरुले विक्रमको निर्मम हत्या गरेको बताइन्छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us