
सप्तरी, ९ असार– दाइजो नल्याएको निहुँमा सप्तरी पंसेरा गाविस–५ की एक महिलाको श्रीमान र सासु मिलेर हत्या गरेका छन् ।
पंसेर गाविस–५ की २५ वर्षीया नगिना साहको पति शत्रुघन साह र सासू सुमित्रा देवीले हत्या गरेका हुन् । आमाछोरा दुवैलाई प्रहरीले पक्राउ परेको छ । पक्राउ परेका आमा र छोरालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ ।
गत शनिबार राति नगिनाको आफ्नै घरमा रहस्यमय मृत्यु भएको थियो ।
मृतक नगिनाको घाँटीमा थिचेको निलडाम र शरीरको अन्य भागमा पनि निलडाम देखिएकाले नगिनाको पति सत्रुघनले हत्या गरेको स्थानीयले बताएका छन् ।
नगिनाको हत्या भएको हो वा आत्महत्या त्यसबारे अनुसन्धान भइरहेको र शव परीक्षणका लागि लहान अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । जनकपुर माइत भएकी नगिनाको १३ महिनाअघि मात्र शत्रुघनसँग विवाह भएको थियो ।