
विदुर, ९ असार– व्यवसायीले नुवाकोट–काठमाण्डु चल्ने माइक्रो बस सेवा बन्द गराउँदा यात्रु मारमा परेका छन् ।
बसपार्क प्रवेशमा पटके शुल्क लिएको भन्दै विरोधमा व्यवसायीले माइक्रो सेवा बन्द गराएका हुन् । बसपार्क सञ्चालनको ठेक्का पाएको एकीकृत तादी विकास समाजले विदुर नगरपालिकाको बट्टारमा हालै निर्माण भएको बसपार्क प्रवेश गर्दा दैनिक दुईपटक शुल्क लिइएकाले सेवा बन्द गरिएको नेपाल माइक्रोबस व्यवसायी समिति नुवाकोटका अध्यक्ष सन्तोष उप्रेतीले बताए ।
माइक्रो बसले बसपार्क प्रवेश गर्दा एक पटकमा २५ रुपैयाँ शुल्क बुझाउनुपर्छ । बसपार्क सञ्चालनको जिम्मा पाएको एकीकृत तादी विकास समाजका अध्यक्ष लक्ष्मण श्रेष्ठले भने विदुर नगरपालिकाले तोकेअनुसारै आफूहरुले दैनिक दुईपटक शुल्क लिएको बताए ।
नुवाकोटमा नेपाल माइक्रोबस कम्पनी र पासाङल्हामु बस व्यवसायी समितिका झण्डै ६५ वटा माइक्रो बस सञ्चालनमा छन् ।