
चितवन, ८ असार – एमाले पोलिटब्युरो सदस्य रघुजी पन्तले पार्टीको आगामी महाधिवेशनबाट माधवकुमार नेपाल नै अध्यक्ष हुने ठोकुवा गरेका छन् ।
भरतपुरमा आइतबार पत्रकार भेटघाटमा नेता पन्तले सहमति वा चुनाव जे भएपनि वरिष्ठ नेता नेपालको विकल्प नभएको बताएका छन् ।
महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमा लगभग सहमति बनिसकेको र त्यो प्रतिवेदनको नेतृत्व पनि नेता नेपालले गरेको भन्दै पन्तले जसको नीति उसकै नेतृत्व हुनुपर्नेमा जोड दिए ।
अबको अध्यक्षले पार्टीको मात्र नेतृत्व नगरी समग्र देशको नेतृत्व गर्नुपर्ने हुनाले यसका लागि नेता नेपालमात्र योग्य रहेको दाबी गरे । केपी ओलीसँग प्रतिस्पर्धा गर्नुपरे पनि नेता नेपाल नै नेतृत्वमा आउने उनको भनाइ थियो ।
देशभर गरिएको प्रारम्भिक अनुमानमा नेपाल पक्षधरहरु ७५ प्रतिशतको हाराहारीमा रहेको नेता पन्तले दावी गरे ।